काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् । उनले सरकारका गलत निर्णय र गतिविधिविरुद्ध एमालेले स्वतन्त्र प्रतिपक्षी शक्तिका रूपमा आवाज उठाउने स्पष्ट पारेका छन् ।
बिहीबार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले एमाले देशको प्रमुख प्रतिपक्षी दल भएकाले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय हित र जनताको अधिकारको पक्षमा दृढतापूर्वक उभिने बताए ।
उनले पछिल्लो निर्वाचनमा एमालेले व्यहोरेको पराजयलाई जनताबाट टाढिएको परिणामका रूपमा मात्रै बुझ्न नहुने जिकिर गरे । निर्वाचनअघि नै पार्टीविरुद्ध प्रतिकूल राजनीतिक वातावरण सिर्जना गरिएको र एमालेलाई एक्ल्याउने प्रयास भएको उनको आरोप थियो ।
निर्वाचनको वातावरण निष्पक्ष नभएको भन्दै एमालेले सुरुदेखि नै प्रश्न उठाए पनि पार्टीले चुनाव बहिष्कार नगरेको उनले बताए । निर्वाचनमा सहभागी नभएको भए पार्टीमाथि थप गलत आरोप लाग्न सक्ने भएकाले प्रतिकूल परिस्थितिमै चुनावमा होमिएको उनको भनाइ थियो । विभिन्न शक्तिले एमालेलाई कमजोर बनाउने प्रयास गरे पनि पार्टी अझै बलियो रहेको उनले दाबी गरे ।
यसैगरी ओलीले संसद् विघटनको विषयमा न्यायालयको भूमिकामाथि प्रश्न उठाउँदै संविधान र कानुनअनुसार न्यायिक निर्णय हुन नसकेको टिप्पणी गरे ।
टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप–३१ सम्मेलनमा नेपालको कमजोर सहभागिता रहेको भन्दै उनले सरकारको आलोचनासमेत गरे । जलवायु परिवर्तनको विषय पर्यटनमा मात्र सीमित नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको उनको भनाइ थियो ।
हिमाल संरक्षण नेपालको मात्रै नभई विश्वकै साझा सरोकार भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर न्यूनीकरण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मुद्दा प्रभावकारी रूपमा उठाउन सरकारले गम्भीर पहल गर्नुपर्ने बताए ।