असोज, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटैरिट परेको छ । कार्यालय समय खुलेलगत्तै मंगलबार बिहान सवा ११ बजेसम्ममा छुट्टाछुट्टै ५ वटा रिट परेको छ । अनुसन्धानपछि रिट दर्ता गर्ने वा दरपिठ गर्ने भन्ने निर्णय सर्वोच्च प्रशासनले गर्छ ।
गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको निर्णयअनुसार प्रतिनिधिसभा विघटन गरिएको थियो । तर, कार्कीको नियुक्ति नै असंवैधानिक रहेको र संवैधानिक प्रधानमन्त्रीले गरेका निर्णय वैध नहुने जिकीर गर्दै रिट निवेदकहरुले प्रधानमन्त्री कार्कीबाट भएका निर्णय बदरभागी भएको दाबी गरेका छन् । रिट निवेदनमा प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकारले गरेका निर्णय कार्यान्वयन हुनबाट रोक लगाउन अन्तरिम आदेशसमेत माग गरिएको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ भने अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा छ । विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ ।