असार २१ — कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा भएको भनिएको करोडौं रुपैयाँको आर्थिक हिनामिना प्रकरणमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विद्यालयकी इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार दुवै जनालाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार सशस्त्र प्रहरी मुख्यालयले विद्यालयमा आर्थिक अनियमितता भएको निष्कर्षसहित अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेपछि पक्राउ प्रक्रिया अघि बढाइएको हो।
अनुसन्धानमा विद्यालयको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा जम्मा गरी करोडौं रुपैयाँ हिनामिना गरिएको आशंका गरिएको छ। प्रारम्भिक छानबिनमा लेखा प्रमुख कल्पना गुरुङलाई घटनाकी मुख्य योजनाकार मानिएको छ।
गुरुङ विगत ६ वर्षदेखि विद्यालयमा लेखापालका रूपमा कार्यरत रहेकी थिइन्। यसै प्रकरणमा सशस्त्र प्रहरीको कल्याण शाखामा कार्यरत महेन्द्र हमाल पनि छानबिनको दायरामा तानिएका छन्।
प्रहरीले आर्थिक हिनामिनाको वास्तविक रकम, संलग्न अन्य व्यक्तिहरू तथा घटनाको विस्तृत विवरण खुलाउन अनुसन्धान जारी रहेको जनाएको छ।