कास्की । पोखराको फेवातालको बीचमा रहेको ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणपछि असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनका लागि खुला गरिने भएको छ।
विसं २०७२ को भूकम्पका कारण करिब तीन इन्च दक्षिणतर्फ ढल्किएको मन्दिरमा संरचनागत जोखिम देखिएपछि विसं २०८० कात्तिकदेखि पुनर्निर्माण सुरु गरिएको थियो।
पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजाआजा रोकिएको थियो। त्यस अवधिमा नजिकैको हवनकुण्डमा चाँदीको मूर्तिमा प्राण प्रतिष्ठा गरी पूजा हुँदै आएको थियो। अब भने घटस्थापनादेखि पुरानै शिलामा विधिवत् पूजा सुरु गरिने मन्दिरका पुजारी तथा गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताए।
पुरानै स्वरुप र परम्परागत वास्तुकला कायम राख्दै काठ, इँटा लगायत सामग्री प्रयोग गरी मन्दिरलाई प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको छ। यसका लागि भक्तपुर र ललितपुरबाट दक्ष कालीगढ ल्याइएको थियो।
मन्दिर पुनर्निर्माणमा करिब १ करोड ५० लाख रुपैयाँ खर्च भएको छ। पुरातत्व विभागले ६ लाख रुपैयाँ सहयोग गरेको र बाँकी रकम भक्तजनबाट प्राप्त सहयोगमार्फत व्यवस्थापन समितिले जुटाएको जनाएको छ।
फेवातालको किनारबाट करिब पाँच मिनेट डुङ्गा यात्रामा पुगिने तालबाराही मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण पोखराको प्रमुख पर्यटकीय गन्तव्यसमेत हो। मन्दिर पुनः सञ्चालनमा आएपछि भक्तजन तथा पर्यटकको चाप बढ्ने अपेक्षा गरिएको छ।