तीन सञ्चारगृह अगाडि राखिएका शंकास्पद गाडीमध्ये एक रास्वपा नेताले प्रयोग गर्ने

13 July, 2026 74 Views
तीन सञ्चारगृह अगाडि राखिएका शंकास्पद गाडीमध्ये एक रास्वपा नेताले प्रयोग गर्ने
74

काठमाडौं । काठमाडौंका तीन प्रमुख सञ्चारगृहको प्रवेशद्वार अगाडि सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाबारे प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा कान्तिपुर पब्लिकेसन्सको गेट अगाडि राखिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।

प्रहरी स्रोतका अनुसार उक्त गाडी कानुनी रूपमा सानिमा बैंकको नाममा दर्ता भए पनि प्रयोग भने रवि जयसवालले गर्दै आएका थिए। जयसवाल रौतहटका निवासी हुन्। उनी एमालेबाट निर्वाचित गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवारका छोरा हुन्।

गरुडा नगरपालिकाका प्रमुख कलवारले पनि उक्त गाडी आफ्ना छोरा रवि जयसवालले करिब एक महिनाअघि खरिद गरेको पुष्टि गरेका छन्। उनका अनुसार गाडीको नामसारी प्रक्रिया पूरा नभएकाले हालसम्म बैंककै नाममा दर्ता रहेको हो।

जयसवाल केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। उनलाई गत जेठ ८ गते पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनयन गरिएको थियो।

सोमबार बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि शंकास्पद रूपमा गाडी राखिएको भेटिएपछि प्रहरीले क्रेन प्रयोग गरी ती सवारीसाधन हटाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको छ। प्रहरीले गाडी त्यहाँ कसले, किन र कुन उद्देश्यले राखेको हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Related Post