तीन दिनपछि हरियो बन्यो नेप्से, कारोबार रकम भने घट्यो

तीन दिनपछि हरियो बन्यो नेप्से, कारोबार रकम भने घट्यो
71

काठमाडौं । लगातार तीन कारोबार दिन ओरालो लागेको शेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक ३.६२ अंकले बढेर २ हजार ६२८.६७ विन्दुमा पुगेर बन्द भएको हो।

नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले बढेका छन्।

बजारमा सामान्य सुधार आए पनि कारोबार रकम भने घटेको छ। बुधबार ४ अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ३४७ कम्पनीका ९४ लाख ३७ हजार कित्ता शेयर ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँमा खरिदबिक्री भएका छन्। यस दिन कुल ४० हजार ८३७ पटक कारोबार भएको थियो।

यस दिन बोटलर्स नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक ६ प्रतिशतले बढेको छ। बोटलर्स नेपाल (तराई) को मूल्य साढे ५ प्रतिशतभन्दा बढी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब ५ प्रतिशतले वृद्धि भएको छ। यता एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक ५.४५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ। बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, पिपुल्स हाइड्रोपावरको १५ करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको साढे १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये पाँचको परिसूचक बढ्दा आठ उपसमूहमा गिरावट आएको छ। उपलब्ध विवरणअनुसार होटल तथा पर्यटन उपसमूहमा सर्वाधिक वृद्धि देखिएको छ।

 

 

Related Post