९०० टनको पुललाई धकेलेर पुरानै अवस्थामा फर्काइँदै

13 October, 2026 93 Views
९०० टनको पुललाई धकेलेर पुरानै अवस्थामा फर्काइँदै
93

काठमाडौं । भदौ १० गते आएको बाढीले क्षति पुर्‍याएको गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत कोल्पुखोलाको नयाँ मोटरेबल पुललाई धकेलेर पुरानै अवस्थामा फर्काउने काम भइरहेको छ । करिब ९०० टन तौलको उक्त पुललाई यातायात सञ्चालनमा पूर्ण रोक नलगाई मर्मत गर्ने प्रयास भइरहेको हो ।

धादिङ र नुवाकोट हुँदै रसुवा जाने मुख्य सडकमा पर्ने कोल्पुखोलाका नयाँ र पुराना दुवै पुल बाढीबाट प्रभावित भएका थिए । यी पुलले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ र धादिङको गल्छी गाउँपालिका–८ लाई जोड्छन् । बाढीले नयाँ पुलको संरचनामा क्षति पुर्‍याउनुका साथै पुरानो पुललाई त्रिशूली नदीतर्फ ढल्काएको छ ।

त्रिशूली नदीको किनारनजिक रहेको कोल्पुखोला त्रिशूलीसँग जोडिएको ठाडो खोला हो । भदौ १० गते त्रिशूलीमा आएको तीव्र गतिको बाढीले कोल्पुखोलामा समेत पानीको बहाव बढाउँदा पुल आफ्नो मूल स्थानबाट सरेको थियो । बाढीको छालले नयाँ पुलको दुवैतर्फ रहेका सुरक्षा संरचना र ढलानसमेत छुट्याइदिएको थियो ।

सडकलाई नियमित रूपमा सञ्चालन गर्न नयाँ तथा ठूलो पुललाई तत्काल पुरानै अवस्थामा फर्काउनु आवश्यक थियो । ११ मिटर चौडाइ र ४१ मिटर स्पान भएको प्रिस्ट्रेस्ड कङ्क्रिट गर्डर प्रविधिको उक्त पुललाई अहिले प्राविधिक टोलीले विशेष उपकरण प्रयोग गरी सावधानीपूर्वक धकेलिरहेको छ ।

संघीय सरकारबाट पुल मर्मतको ठेक्का चितवनको भरतपुरस्थित जलप नेपाल प्रालिले पाएको छ । असोज ५ गतेदेखि मेकानिकल इन्जिनियर अब्दुल खालिदको नेतृत्वमा नेपाली प्राविधिक टोली पुललाई पुरानै स्थानमा फर्काउने काममा खटिएको छ ।

कपिलवस्तुको तौलिहवाका खालिदका अनुसार बाढीको तीव्र बहावका कारण कोल्पुखोलाको पानी केही समय उल्टो दिशामा बगेको थियो । उनका अनुसार पानीको बहाव उल्टिएर करिब तीन किलोमिटर माथिसम्म पुगेको थियो । पछि पानी पुरानै दिशामा फर्कने क्रममा पुललाई केही माथि उचाल्दै तलतर्फ करिब ५०० मिलिमिटर सारिदिएको थियो ।

‘हरेक पुलका चारवटै कुनामा पार्श्व विस्थापन रोक्ने स्टपर हुन्छन् । ती स्टपरले पुललाई थप सर्न दिएनन् । त्यसपछि पुलको सम्पूर्ण भार स्टपरमा पर्न गयो,’ खालिदले भने ।

उनका अनुसार पुललाई पुनः समतल अवस्थामा ल्याउने काम सम्पन्न भइसकेको छ । अहिले त्यसलाई आवश्यक उचाइमा उठाएर पुरानै स्थानमा फर्काउने काम भइरहेको छ ।

खालिदले बाढीका बेला कोल्पुखोलाले ठूलो मात्रामा पानी थुनेर राख्ने जलाशयजस्तो भूमिका खेलेको पनि बताए । खोलामा पानी जम्मा हुँदा कोल्पुको पुलमा क्षति पुगे पनि त्यसले अगाडि रहेको महेश खोलाको पुललाई सम्भावित क्षतिबाट जोगाउन मद्दत गरेको उनको भनाइ छ ।

कोल्पुखोलाको नयाँ पुलको मर्मत दसैँअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको खालिदले बताएका छन् । हाल उनीसहित १० जना नेपाली प्राविधिक पुल पुनःस्थापनाको काममा संलग्न छन् ।

बाढीले क्षति पुर्‍याएका सडक तथा पुल पुनःस्थापना गर्नु रसुवा जाने यातायातलाई सहज बनाउन महत्त्वपूर्ण छ । कोल्पुखोलाको पुललाई पुरानै अवस्थामा फर्काउने कामले यस सडकखण्डको आवागमन नियमित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Related Post