71
काठमाडौँ । कृषिप्रधान देश नेपालमा प्रत्येक वर्ष असार १५ गते मनाइने परम्परागत सांस्कृतिक पर्व राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज मुलुकभर विविध कार्यक्रम गरी मनाइँदैछ।मनसुनको सुरुआतसँगै मानो रोपेर मुरी फलाउने यस विशेष दिनमा किसानहरू खेतका गरामा व्यस्त रहँदै परम्परागत रूपमा दही चिउरा खाएर यो पर्व मनाइरहेका छन्।
नेपाल सरकारले वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी वि.सं. २०६२ देखि असार १५ लाई आधिकारिक रूपमा राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। आजको दिन खेतमा छुपुछुपु धान रोप्दै, असारे भाकाका लोकगीत गाउने र एकअर्कामा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने मौलिक परम्परा रहेको छ।
नेपाली संस्कृतिमा असार १५ को दिन दही चिउरा खानुलाई स्वास्थ्य र सगुन दुवै दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ।मध्यगर्मी र हिलोमा काम गर्दा थकित भएका किसानहरूलाई ऊर्जा प्रदान गर्न र शरीरमा शीतलता कायम राख्न दही चिउरा पौष्टिक आहार साबित हुने वैज्ञानिक एवं आयुर्वेदिक मान्यता समेत रहेको छ।
पछिल्लो समय यो परम्परा किसानहरूमा मात्र सीमित नरही सहरिया क्षेत्र र अन्य पेसामा आबद्ध नेपालीहरूमाझ पनि 'दही चिउरा खाने दिन'का रूपमा उत्तिकै लोकप्रिय बनेको छ। नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा धान बालीको उत्पादनले ठूलो भूमिका खेल्ने भएकाले सरकार तथा विभिन्न कृषि सङ्घसंस्थाहरूले यस दिनलाई खाद्य सुरक्षा र आत्मनिर्भरताको सन्देश दिने महोत्सवका रूपमा मनाउँदै आएका छन्।