काठमाडौं। नेकपा एमालेमा लामो समयदेखि आबद्ध रहेर राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी दिना गोतामेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले आजदेखि एमालेसँगको राजनीतिक आबद्धता अन्त्य गरेको बताएकी हुन्। पार्टीमा रहँदा विभिन्न परिस्थितिका बाबजुद अनुशासनमा रहेर जिम्मेवारी पूरा गर्ने प्रयास गरेको उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा कुनै गल्ती वा कमजोरी भएको भए सबैसँग क्षमायाचना गरेकी छन्।
पार्टीमा रहँदा समाज र नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै गोतामेले पार्टीबाट अलग भए पनि समाजप्रतिको सद्भाव र सेवाभाव कायम रहने स्पष्ट पारेकी छन्।
“एमाले पार्टीबाट अलगिएको हो, समाजप्रतिको मेरो सद्भाव र सेवाभावबाट होइन,” भन्दै उनले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा सामाजिक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“हिजोसम्म तपाईंहरूको कमरेड म, आजदेखि तपाईंहरूकी साथी हुनेछु,” भन्दै उनले नागरिकको हित र सकारात्मक परिवर्तनका पक्षमा सधैँ साथ रहने बताएकी छन्। साथै, आफूलाई पुनः एमालेमा फर्किन आग्रह नगर्नसमेत उनले अनुरोध गरेकी छन्।
आफ्नो राजनीतिक यात्रामा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै गोतामेले एमालेसँगको आबद्धता अन्त्य गरे पनि समाजसेवाको यात्रालाई निरन्तरता दिने सन्देश दिएकी छन्।