उत्तर प्रदेशको शिकोहाबादमा मुटु कमाउने घटना: विवाहको प्रस्ताव अस्वीकार गर्दा डेढ वर्षका बालकको विभत्स हत्या

01 June, 2026 152 Views
उत्तर प्रदेशको शिकोहाबादमा मुटु कमाउने घटना: विवाहको प्रस्ताव अस्वीकार गर्दा डेढ वर्षका बालकको विभत्स हत्या
152

शिकोहाबाद (फिरोजाबादभारत)
भारतको उत्तर प्रदेशस्थित फिरोजाबाद जिल्लाको शिकोहाबादमा एक हतास र सनकी युवकले डेढ वर्षका मासूम बालकको सडकमै पटक-पटक प्रहार गरी निर्मम हत्या गरेका छन्।

आरोपी २४ वर्षीय विराज उर्फ जितेन्द्र पाठकले ती बालककी आमासँग एकतर्फी प्रेम गरी विवाहको प्रस्ताव राखेका थिए। आमाले विवाह गर्न अस्वीकार गरेपछि बालकलाई आफ्नो बाटोको तगारो ठानेर ती अबोध शिशुको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार पीडित महिला रती देवी (२४ वर्ष) आफ्ना श्रीमानसँगको विवादका कारण विगत ५ महिनादेखि माइतीमा बस्दै आएकी थिइन्। आरोपी जितेन्द्र पाठक नाताले उनका श्रीमानको भाइ (काकाका छोरा) हुन्। रती देवीको सम्बन्धविच्छेदको कानुनी प्रक्रियामा सहयोग गर्ने बहानामा जितेन्द्रले उनीसँग नजिकिने प्रयास गरेका थिए। यसै क्रममा उनले रतीलाई पटक-पटक विवाहको प्रस्ताव राखेका थिएतर रतीले आफ्नो बच्चा (आरव) भएको भन्दै प्रस्ताव अस्वीकार गरेकी थिइन्।

शनिबार (मे ३०) का दिन रती र उनकी आमा कानुनी सल्लाहका लागि शिकोहाबादको यादव कोलोनीमा रहेका एक परिचितको घरमा आएका थिए। आरोपी जितेन्द्रले उनीहरूको पिछा गर्दै त्यहाँ पुगेर पुनः विवाहको दबाब दिए। त्यहाँ पनि अस्वीकार गरेपछि रीसको झोकमा उनले १७ महिने बालक आरवलाई 'टफी (चकलेट) किनिदिनेबहानामा फकाएर बाहिर लगे।

घरभन्दा करिब ५० मिटर टाढा पुर्‍याएर आरोपीले ती मासूम बालकलाई सडकको भुइँमा लगातार ८ पटकसम्म बजारेर छटपटाइरहेकै अवस्थामा छाडेर फरार भएका थिए। यो सम्पूर्ण विभत्स दृश्य नजिकैको सीसीटीभी (CCTV) क्यामेरामा कैद भएको छजसले सामाजिक सञ्जालमा ठुलो आक्रोश पैदा गरेको छ। 

घटना सार्वजनिक भएलगत्तै फिरोजाबाद प्रहरीले आरोपी पक्राउ गर्न ४ वटा विशेष टोली परिचालन गरेको थियो। शिकोहाबाद प्रहरीले मैनपुरी रोड नजिकै घेराबन्दी गर्दा आरोपी जितेन्द्रले प्रहरीमाथि गोली प्रहार गरेका थिए।

प्रहरीले आत्मरक्षार्थ जवाफी कारबाही गर्दा आरोपी जितेन्द्रको दुवै खुट्टामा गोली लागेको छ। घाइते अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिई अस्पताल भर्ना गरेको छ। प्रहरीले उनको साथबाट एउटा पेस्तोल र गोलीहरू समेत बरामद गरेको छ।

फिरोजाबादका प्रहरी उपरीक्षक (SP) रवि शंकर प्रसादका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। आरोपीले बयानका क्रममा बालककी आमासँग विवाह गर्नका लागि बच्चा नै मुख्य बाधक देखिएकाले उसलाई बाटोबाट हटाउन हत्या गरेको बताएका छन्। प्रहरीले यस घटनामा कडा कानुनी धारा (BNS Section 103-1) अन्तर्गत मुद्दा दर्ता गरी द्रुत अदालत (Fast Track Court) मार्फत कडा भन्दा कडा सजाय दिलाउने प्रतिबद्धता जनाएको छ। 

 

Related Post