ऊर्जा मन्त्री श्रेष्ठका सल्लाहकारमा विवेकराज कँडेल नियुक्त

28 July, 2026 48 Views
ऊर्जा मन्त्री श्रेष्ठका सल्लाहकारमा विवेकराज कँडेल नियुक्त
48

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी सल्लाहकार (विशिष्ट श्रेणी) मा चितवनका विवेकराज कँडेल नियुक्त भएका छन्।

मन्त्रालयका अनुसार कँडेलले ऊर्जा व्यापार, पूर्वाधार विकास तथा दीर्घकालीन ऊर्जा सुरक्षासम्बन्धी विषयमा मन्त्रीलाई रणनीतिक परामर्श दिनेछन्। साथै, आन्तरिक ऊर्जा क्षेत्रको सुधार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा क्षेत्रीय ऊर्जा बजारसँग नेपालको सहभागिता विस्तार गर्न आवश्यक नीति निर्माणमा पनि उनले भूमिका निर्वाह गर्नेछन्।

कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका छन्। उनले हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्मेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण र नेतृत्वमा विशेषज्ञतासहित सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) तथा नेदरल्यान्ड्सको युनिभर्सिटी अफ ट्वान्टेबाट ऊर्जा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्।

ऊर्जा क्षेत्रसँग सम्बन्धित नीति तथा परियोजनामा कँडेलसँग डेढ दशकभन्दा बढीको अनुभव छ। उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक र अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरिना) लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कार्य गरिसकेका छन्।

मन्त्रालयले कँडेलको अनुभव र विज्ञताले नेपालको ऊर्जा क्षेत्रको नीतिगत सुधार, ऊर्जा व्यापारको विस्तार तथा पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Related Post