मध्यनेपालले प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे गर्दै

सेयर गर्नुहोस्

लमजुङ २९ मंसिर

लमजुङको मध्यनेपाल नगरपालिकाले पालिकाअन्तर्गतका सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको छ । १० वटा वडा रहेको सो नगरपालिकाले सबै वडा कार्यालय पुग्ने सडक कालोपत्रे सुरु गरेको हो ।

नगरपालिकाअन्तर्गत सबै वडा कार्यालयमा यसअघि नै सडक सञ्जाल पुगीसकेको र उक्त सडकहरुलाई स्तरोन्नति गरी कालोपत्रे सुरु गरीएको मध्यनेपाल नगरपालिका प्रमुख रमेश कुमार पाण्डेले बताए ।

चालु आर्थिक वर्षमा पाँचवटा वडाकार्यालय पुग्ने सडक कालोपत्रे शुरु गरेको नगरपालिकाले अर्को वर्ष सवै सडक कालोपत्रे सम्पन्न गर्ने नगरप्रमुख पाण्डेको भनाइ छ ।

नगरपालिकाले बार्षिक रुपमा योजना बनाएर सबै वडा कार्यालयहरूसम्म पुग्ने सडक कालोपत्रे सुरु गरेको हो । चालु आर्थिक वर्षमा वडा नम्बर १ अन्तर्गत जिता बेसीदेखि वडा कार्यालय रहेको सातधारेसम्म कालोपत्रे सुरु भएको छ । त्यसैगरी वडा नम्बर २ अन्तर्गत सोतीपसलदेखि पाँडे गाउँ हुँदै वडा कार्यालयसम्म कालोपत्रे सुरु भएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी वडा नम्बर ३ अन्तर्गत सोतिपसलकै क्याम्पस चोकदेखि वडा कार्यालयसम्म कालोपत्रे सुरु भएको छ भने वडा नम्बर ४ अन्तर्गत दुईपिप्लेबाट समिभन्ज्याङतर्फको र वडा नम्वर ७ मा मादि पुलदेखि लक्ष्मी बजारसम्म कालोपत्रे सुरु भएको छ ।

वडा नम्बर ९ अन्तर्गत भोर्लेटारदेखि बाँग्रेबेसीसम्म कालोपत्रे सुरु भएको छ भने सोबाहेक वडा नम्बर १० मा पनि स्वाँरादेखि वडा कार्यालयसम्मको सडक कालोपत्रे सम्पन्न चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा बाँकी रहेका वडा कार्यालयसम्म पुग्ने सडकलाई आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई कालोपत्रे गरीने नगरप्रमुख पाण्डेले बताए ।

वडा कार्यालय पुग्ने सबै सडकलाई कालोपत्रे गर्नका लागि नगरपालिका आफैँले बजेट बिनियोजन गरेको हो । नगरपालिकाले वडा कार्यालय पुग्ने सडकबाहेक आफ्नै लगानीमा दुईपिप्ले सोतिपसल सडक खण्ड अन्तर्गत चर्दी खोलामा मोटरेवल पुलसमेत निर्माण गरेको जनाएको छ ।

नगरपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालय पुग्ने सडक कालोपत्रे सकिएपछि नगरपालिकाले प्रत्येक बस्तीदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्रेलाई प्राथमिकतामा राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *