कञ्चनपुरका युवाको हत्या प्रकरणमा सहायक हवल्दारसहित दुईजना पक्राउ

सेयर गर्नुहोस्

२८ माघ, धनगढी । कञ्चनपुरका एक युवाको मृत्यु प्रकरणमा प्रहरीले एक प्रहरी सहायक हवल्दारसहित दुईजनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको शव पाँच महिनाअघि गएको असोजमा कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो । रानाको हत्या आरोपमा कञ्चनपुर प्रहरीले केही दिनअघि कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये चौधरी प्रहरी सहायक हवल्दार हुन् । पीडित आफन्तजनले चौधरी र भण्डारीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए । रानाको हत्या गरेको भन्दै उनकी श्रीमती सुशीला रानाले दुवै जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाही मात्र घर आउने गरेका थिए । १८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर, त्यसको १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *