निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औं वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ । उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै उनले अर्थतन्त्रको सवलीकरण मात्रै नभइ देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए । दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौं । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरुरी छ, त्यसो गरिन्छ । निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेको समस्या भनेको अर्थतन्त्रको समस्या हो । अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ ।’

पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचक देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे । नयाँ वर्षको सुरुवातमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौं । विदेशी लगानी भित्र्याउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधन प्रक्रियामा छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ । वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पूँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *