२७ भदौ, काठमाडौं । इञ्जिनियर सुवासचन्द्र बराललाई जीवनमा यति दुःख भोग्नुपर्ला भन्ने त थिएन तर जे जस्तो परे पनि पार लाग्छु भन्नेचाहिं सामैमा थियो । तत्कालीन गण्डकी अञ्चलको गोरखामा जन्मिएका उनले आफ्नो जीवनमा धेरै हण्डर खाए । लोकतन्त्र प्राप्तिको आन्दोलनमा बाबु जेल परे । आमाको लालनपालनबाट हुर्कदै गरेका उनले आमाबाट मातृवात्सल्य मात्र होइन समस्यासँग जुध्ने साहस पनि पाए । र, देशको शैक्षिक सुधारका क्रममा मृत्युवरण गर्नुपरेका मुक्तिनाथ अधिकारीजस्ता ससुरा समेतको प्रेरणा अनि जीवनका कैयन ठक्करहरुले अहिले देशमा स्वदेशी श्रोतमै उत्कृष्ट जलविद्युत आयोजना चलाउन सकिन्छ भन्ने कुरा उनले प्रमाणका रुपमा पेश गर्न सफल भएका छन् । २०५७ सालमा पुलको इञ्जिनियरका रुपमा सेवा थालेका बरालले २०७२ सालमा २.५ मेगावाटको दरम खोला लघु जलविद्युत आयोजना निर्माण गरे । नेपाली र गैर आवासीय नेपालीको लगानीमा सम्पन्न आयोजना पछि उनकै पहलमा २१ मेगावाटको म्याग्दीस्थित ठूलो खोला जलविद्युत आयोजना अहिले निर्माण सकिने चरणमा छ ।
नेपाल हाइड्रो भेञ्चरमार्फत ४३ मेगावाटको जलविद्युत उत्पादनको तयारी थालेका बरालले सबैमा आफैंसँग सक्रिय इञ्जिनियरहरुलाई मालिक बनाएका छन् । इञ्जिनियरहरुको क्षमता बढाएर रोजगारभन्दा उद्यमशीलता बढाउने सपना बोकेका उनले त्यही बलमा अहिले इञ्जिनियर्स एसोसिएसनको नेतृत्व सम्हाल्ने सपना बुनेका छन् । उम्मेदवारी दिएलगत्तै उनले प्रदेश र स्थानीय तहसम्मै इञ्जिनियरको संगठन बलियो र क्षमता वृद्धिको योजना सार्वजनिक गरेका छन् । हालसम्म इञ्जिनियर प्रशासकीय नहुने र संघीय मन्त्रालयमा पनि सचिव कम रहेको अवस्थामा असमानता हटाउन नीतिगत पहल गर्ने घोषणा उनले गरेका छन् । गण्डकीको पुत्रका रुपमा उदाएका बराल आफू मात्र बनेनन् धेरै इञ्जिनियरहरुलाई पनि बनाए । र, यही बलमा उनी इञ्जिनियरहरुको साझा नेता बन्ने दौडमा छन् । यस्तोमा उनी आफ्नो भूमि गण्डकीसँगै देशैभरबाट साथ र समर्थनको प्रतिक्षामा छन् ।