११ कार्तिक, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउन लगाउनुपर्छ भन्ने राम्रोसँग जानेको बताएका छन् ।
गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) ले आज आयोजना गरेको गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै अझै पनि धम्क्याएको भरमा खाने दिन सकिएको बताए ।
उनले भने, ‘हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौँ तर कसरी बिसाउन लगाउनु पर्छ जानेका छाैँ हामीले ।’प्रधानमन्त्री ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव रहेको बताए ।
प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने उनको भनाइ थियो ।प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली सङ्घको छविलाई कायम गरी सङ्गठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे ।सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न उहाँको आग्रह थियो ।
आफू सन् १९९९ तिर मस्को जाँदा डा. उपेन्द्र महतोसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याइँ नगर्ने पनि स्पष्ट पारे ।