१३ कार्तिक, काठमाडौं-स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् ।सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् ।२८ वर्षीय रोड्रीले गत सिजन सिटीका लागि प्रिमियर लिग यूईएफए सुपर र क्लब विश्वकप साथै स्पेनको राष्ट्रिय टोलीबाट युरोकप जितेका थिए ।
सिटीका खेलाडीले बालोन डी’ओर अवार्ड जितेको यो पहिलोपटक हो । उनले रियल मड्रिडका भिनिसियस जुनियर र जुड बेलिङघहम अनि आफ्नै टिममेट एर्लिङ हालान्डलाई पछि पारे ।भिनिसियस दोस्रो र बेलिङघहम तेस्रो स्थानमा रहे ।अवार्ड प्राप्त गरेपछि रोड्रीले आफ्नो लागि उत्कृष्ट क्षण भएको बताए । ‘म र मेरो परिवारको लागि यो एकदमै विशेष क्षण हो,’ उनले भने ।बालोन डे’ओभरमा फिफा वरियतामा शीर्ष सयमा रहेका राष्ठ्रका पत्रकारहरुको जुरीले गरेको भोटका आधारमा उत्कृष्ट पुरुष खेलाडी छनोट गरिएको हो ।
यस्तै महिलातर्फको अवार्ड स्पेन तथा बार्सिलोनाका मिडफिल्डर आइटिनो बोनमाटीले जितेकी छिन् ।उनले गत सिजन बार्सिलोनाका लागि लालिगा, च्याम्पियन्स लिग, सुपर कोपा तथा कोपा डे ला रेइना उपाधि जितेकी थिइन् ।फेब्रुअरीमा स्पेनले नेसन्स कप उपाधि जित्दा उनले ४ गोल गरेकी उनले फ्रान्ससँग २–० को जित हात पारेको फाइनलमा पनि एक गोल गरेकी थिइन् ।
रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते भने रियल मड्रिडले क्लब अफ दि इअरको अवार्ड पायो ।बार्सिलोनाका युवा स्टार लामिन यामलले कोपा ट्रफी जिते भने अर्जेन्टिनाका गोलकिपर एमिलयानो मराटिनेजले उत्कृष्ट गोलकिपर बन्दै यासिन ट्रफी जिते ।ह्यारी केन र केलिएन एमबाप्पेले गर्ड मुलर अवार्ड जिते । महिलातर्फ उत्कृष्ट क्लबको अवार्ड बार्सिलोनाले जित्यो ।महिलातर्फको उत्कृष्ट प्रशिक्षकको अवार्ड इंग्ल्याण्डकी प्रशिक्षक एम्मा हायसले जिते ।