२५ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति भएको बताएका छन्।
रवि लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा उनले त्यस्तो बताएका हुन्। ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो,’ उनले भने, ‘यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसेले पाउँदैन त्यो गौण कुरा हो।’
रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन। रास्वपामा उपसभापति दुई जना छन्। पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था भए पनि लामिछानेले कार्यवाहक दिएका छैनन्।तथापि उपसभापति अर्यालले नै कार्यवाहको भूमिका निर्वाह गर्दै आएका छन्। केन्द्रीय समितिको बैठकका अध्यक्षता उनैले गर्छन्।
‘उहाँको सभापति पद निरन्तर रहन्छ। उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा रहनुहोला, उहाँ जेलमा रहनुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो। उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ,’ उपसभापति अर्यालले भने, ‘संसारमा यस्ता इतिहास धेरै छन्, जसले जेलमै बसेर पार्टी सञ्चालन गरेका छन्। त्यतिमात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास छ। हामी विचलित हुनुहुँदैन।’
उनले प्रदर्शनकारीको संख्या सानो भए पनि त्यसले दिने सन्देश ठूलो हुने बताए। शनिबार बसेको पार्टी केन्द्रीय समिति बैठकले दोस्रो चरणको सशक्त आन्दोलन गरेको र त्यसको मोडालिटी तय भइरहेको उनले बताए। आन्दोलनको स्वरूप परिवर्तन हुने र सहकारी बचतकर्ताहरू निक्षेप फिर्ता लगायतका विषमा मुद्दा मिल्ने दलहरूसँग छलफल गरेर अघि बढ्ने उनले बताए।