रवि लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने तयारी

सेयर गर्नुहोस्

२६ कात्तिक,काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही लैजाने  तयारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई सकभर आज (सोमबार) साँझ नभए भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा लैजाने तयारी गरीएको छ ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई लैजान लागेको  हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका-९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो ।

२ करोडमध्ये संस्थाले लिने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

गुल्मीको मालिका गाउँपालिका-८ घर भएका ३० वर्षीय सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोरखा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भएकी छन् । केसी फरार छन् ।

संस्थाका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई र पूर्व उपराष्ट्रतिका छोरा एवं सुप्रिम सहकारीका पूर्वसचिव दीपेश पुनसहित २८ जनालाई प्रतिवादी बनाउँदा अनुसन्धानमै रकम लगेको देखिएपनि लामिछानेलाई प्रतिवादी बनाइएको थिएन ।

प्रहरीले २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही अदालतमा मुद्दा दर्ता गर्दा लामिछाने गृहमन्त्री थिए । तर, अहिले प्रहरीले लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *