२९ कार्तिक,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । सिंहदरबारमा बसेका रास्वपाका सांसदहरूको अनौपचारिक छलफलले उक्त निर्णय लिएको हो ।
सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशाेध भएको भन्दै ज्ञापनपत्र बुझाउन खोजेको हो । सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका छन् । लामिछानले आफूविरुद्ध प्रतिशाेध साँधिएको दाबी गर्दै आएका छन् ।
सिंहदरबारमा आज दिउँसो भेला भएका सांसदहरूबीच सहमति जुटेलगत्तै प्रधानमन्त्री ओलीसँग रास्वपाले समय मागेको थियो । तर, प्रधानमन्त्रीले कार्यव्यस्तता भन्दै आजलाइ समय दिएका छैनन् ।
प्रधानमन्त्री ओलीले रास्वपाका सांसदहरूलाई भोलिका लागि समय दिने संकेत गरेका छन् । तर, समय भने तय भइसकेको छैन । रास्वपाले सभापति लामिछानेको विषयमा केन्द्रित भएर आन्दोलन पनि गरिरहेको छ । यही विषयमा ज्ञापनपत्र बुझाउन लागेको हो ।
रास्वपाका उपसभापति डीपी अर्यालले राष्ट्रिय मुद्दामा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउन लागेको बताए । अर्यालले भने, ‘हामीले आज ज्ञापनपत्र बुझाउन खोजेका थियौँ, प्रधानमन्त्रीको समय मिलेन, भोलि समय मिल्ने सम्भावना रहेको छ ।’ यद्यपि आर्यालले ज्ञापनपत्रमा के के विषय समेटिन्छन् भन्ने चाहिँ प्रस्ट पारेनन् । ज्ञापनपत्र राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुने उनको भनाइ छ ।