रबि लामिछानेलाई आज काठमाडौ ल्याइदै

सेयर गर्नुहोस्

११ मंसिर, काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज काठमाडौं ल्याइने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई आज जहाजमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् ।

आइतबार मात्रै कास्की जिल्ला अदालतले रविलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४८० रूपैयाँ पेश्कीबापत गएको देखिन्छ । त्यतिमात्रै होइन, स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ ।

उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रूपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रूपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । रविलाई यसअघि भैरहवा लगेर बयान लगिएको थियो । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *