१८ पुस,काठमाडौं-साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पूर्व महामन्त्री डा. मुकुल ढकालले रास्वपाको कोर्स करेक्सन गर्ने बेला आएको बताएका छन्।
पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई फिर्ता ल्याउनुपर्ने भन्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेखेका थिए। रास्वपा आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको र मुकुललाई पार्टीबाट निष्कासन गरेपछि पार्टी झन् कमजोर भएको भन्दै उनलाई फिर्ता गर्नुपर्ने पत्रमा उल्लेख छ। त्यसपछि प्रतिक्रिया दिँदै ढकालले आफूले उठाएको विषय अदालत प्रवेश गरिसकेकाले अदालतको फैसलापछि स्वतः कोर्स करेक्सनको बिन्दु आइपुग्ने बताए। उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने अदालतबाट दोषी ठहर भए आफू स्वतः पार्टीमा फर्किने र निर्दोष देखिए माफी माग्ने बताए। रास्वपा कानुनी राज, विधिको शासन र अदालतको न्यायिक निरूपणको विश्वास गर्ने पार्टी भएकाले अदालतबाट भएको निर्णय स्विकार्ने मुकुलको दाबी छ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी अभियोग लागेका रविसहित ७ जनाविरूद्ध परेको मुद्दामा बुधबार सरकारी वकिलको बहस सकिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको बहस सकिएको हो।
त्यसैगरी पार्टीभित्र आफ्नो पक्षमा आवाज उठ्न थाल्नुलाई सकारात्मक रूपमा लिएको मुकुल बताउँछन्। पहिलाआफु माथि अपमानजनक कारबाही गर्दा कोही चुइँक्क नबोले पनि अहिले कम्तीमा गल्ती भएको भन्दै कसैले त बोल्न सुरू गरेका मुकुलले बताएका छन ।
तर, रास्वपाले भने यसलाई झिनो मसिनो विषय भएको भन्दै आउँदो केन्द्रीय समिति बैठकमा यो विषयमा छलफल हुन आवश्यक नरहेको कार्यवाहक महामन्त्री बुर्लाकोटी बताउँछन्।
‘यो विषयको कानुनी वैधता नै नभएको कसैलाई आफ्नो मनको बह लागेर लेखेकाले , प्रक्रियामा प्रवेश गरेर टुङ्गो लागेको विषय भएकाले त्यता फर्केर हेर्नुपर्ने जरुरी नै नभएको कार्यवाहक महामन्त्री बुर्लाकोटीले उल्लेख गरेका छन ।