१८ पुस,काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य गगन थापाले भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा टुंगो लगाउनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन ।
एक जना पूर्वप्रधानमन्त्री यही हुनुहुन्छ । अर्को पूर्वप्रधानमन्त्री अर्को समितिमा आइराख्नुभएको छ । अर्को एक जनालाई पनि बोलाएर यहीँ छलफल गरौं र भ्रष्टाचारको कुन-कुन फाइल खोल्ने हो छलफल गरौं भन्ने प्रस्ताव महामन्त्री थापाले गरेका छन ।
राज्य व्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्ने बताएका हुन ।
‘बनाउने भए शक्तिशाली आयोग बनाऔं ,सबैको सम्पत्ति छानबिन गरौं एक अर्कालाई खुइल्याउन पर्यो भने भ्रष्टचारको विषय निकाल्दै बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ भन्दै नहिडौं, ‘कहिले सरकारमा बसेको मान्छेले म फाइल खोल्दिन्छु भन्ने कहिले सरकारबाट बाहिर गएकोले मैले फाइल खोल्न खोज्दै थिएँ त्यहीभएर यस्तो भयो भन्ने बाहिर बसेका मान्छेहरुलाई यो कस्तो फाइल हो ? फाइल कसले खोल्छ ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? हामीले त अहिले अख्तियारको कानुन बनाउँदै छौं । फाइल अख्तियारले खोल्ने हो । अख्तियार भनेको संवैधानिक निकाय हो । त्यसकारण फाइल खोल्दिन्छु, यो फाइल त्यो फाइल, फाइल–फाइल भनेर सुन्दा सुन्दा नागरिक पनि आजित भएको हुन्छ र नागरिकको तहमा सबै जना मानिस भ्रष्टचारमा लिप्त भएको भन्ने भाष्य निर्माण भयो बरु एउटा बैठक आमन्त्रित गरेर भए पनि यही समितिमा छलफल गरौं भन्ने प्रस्ताव राखेका थिए ।
थापाले भनाइ टुंग्याएपछि पुनः बोल्न समय मागेर समितिको बैठकमा उपस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग बनाउने कांग्रेस महामन्त्री थापाको प्रस्तावमा सहमति जनाएका छन् ।प्रचण्डले गगन थापाले राखेका कुरा गम्भीर भएको बताउदै मुख्य कुरा नियत र निष्ठा हुने भएकाले नियत ठिक र निष्ठापूर्ण भयो भने सकारात्मक दिशा तिर जान्छ । तर पनि प्रमुख नेताहरु बसेर छलफल नै गर्दा उपयुक्त हुने बिचार राखेका छन ।