१९ पौष,काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन् । स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगी आरोप लागेको छ । यो विषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् ।
एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।
अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी गराएका छन् । उनीमाथि लागेका आरोपहरुको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा पत्रमा छ । साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।
ऋषिकेशकी पत्नी सहकारी ठगीमा जोडिएर हाल फरार छिन् । जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछ उनकी पत्नी अञ्जला कोइराला हाल फरार छिन् ।श्रीमतीलाई जोगाउन शक्ति दुरुपयोग गरेको आरोप लागेपछि ऋषिकेशमाथि संसदीय समितिको बैठकमै सत्तापक्ष समेतका सांसद्हरूले प्रश्न उठाएका थिए ।
पोखरेलकी पत्नी कोइरालाले मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी गरेको आरोप लागेको छ । उक्त सहकारी पोखरेलले आफ्नै अग्रसरतामा खोलेका थिए ।
सरकारी वकिलको कार्यालय मोरङले कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मङ्सिर २८ मै मुद्दा दर्ता गरिसकेको छ । तर, कोइराला अदालत नै नगई फरार भएकी छिन् । अदालतले उपस्थित हुन पुस ३ गते ३५ दिने हदम्याद जारी गरिसकेको छ ।