गौशालाको होटेलमा युवतीको मृत्यु, युवक पनि ओखलढुंगामा मृत भेटिए

सेयर गर्नुहोस्

२१ पौष,काठमाडौं । काठमाडौंको गौशाला पिंगलास्थानस्थित गेस्ट हाउसमा दुई दिनअघि युवती मृत भेटिएको घटनामा प्रहरीले खोजी गरिरहेका युवक पनि मृत भेटिएका छन्। होटेलको कोठामा ताला लगाएर निस्किएका देवकुमार थापा ओखलढुंगास्थित आफ्नै गाउँमा झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिस्नेरीस्थित आफ्नै गाउँमा उनी शनिबार मृत भेटिएको ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी कृष्ण खड्काले बताए ।

गौशाला पिंगलास्थानस्थित होटेल बागमतीको कोठा नम्बर ३०८ मा कागेश्वरी मनोहराकी २२ वर्षीया सुस्मिता खड्का बिहीबार बिहान मृत अवस्था फेला परेकी थिइन् । मंगलबार बेलुका देवकुमार र सुस्मिता सो होटेलमा सँगै बसेका थिए । भोलिपल्ट देवकुमार कोठामा ताला लगाएर निस्किएको  खुलेको थियो ।

प्रारम्भिक अनुसन्धानमा युवतीको विष सेवनबाट मृत्यु भएको आकलन गरिएको छ । उनको शरीरमा चोटपटक नभेटिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम तथा भिसेरा जाँचको  रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरी वृत्त गौशालाका डिएसपी सुकदेव खनाल बताउँछन् । युवतीका परिवारले भने देवकुमारले नै हत्या गरेको आशंका गरेका छन्। देवकुमार केही दिनअघि मात्र जापानबाट बिदामा नेपाल आएका थिए। सुस्मिता पनि जापान जाने प्रक्रियामा थिइन्।

देवकुमार बिहीबार गाउँ पुगेका थिए। गाउँ आएपछि उनी निकै तनावमा देखिएको उनका परिवारले जनाएका छन्। शुक्रबार पनि उनी आत्महत्या गर्ने भन्दै डोरी लिएर निस्किएको गाउँलेले बताएका छन्। उनको मृत्यु घटनाको वास्तविकताबारे विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *