२२ पौष,काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।
ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए ।
पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौवालाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर पोखरेलले पैसा फिर्ता दिएनन् । उल्टै बौवालाललाई २०७९ साउन ९ गते हिसाब चुक्ता गरिदिन्छु भन्दै बोलाएर ५० लाख रुपैयाँ ऋण लिएको कागज बनाएका थिए ।
आफूलाई जबरजस्ती २०७४ साल असार २५ गते आइतबारको मिति राखेर ऋण लिएको भनि कपाली तमसुक बनाएपछि उनी प्रहरी कार्यालय पुगेका थिए । जबरजस्ती बनाएको तमसुक च्यात्न र ठगी कसूरमा कारवाही गर्न भन्दै जाहेरी दिन प्रहरी कार्यालय गए पनि प्रहरीले जाहेरी दर्ता गरेन् ।
प्रहरीले जाहेरी दर्ता नगरेपछि जबरजस्ती कागज बनाएको ९ दिनपछि १८ साउन २०७९ मा हुलाक मार्फत जाहेरी पठाएका थिए । प्रहरीले जाहेरी नलिएको भन्दै उनले ३१ साउन २०७९ मा ठगी मुद्दामा पोखरेलविरुद्ध जाहेरी दरर्खास्त दर्ता गरी अनुसन्धान गर्न परमादेशको मागसहित रिट निवेदन दर्ता गरेका थिए ।
गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाहीको गर्न अन्तिम आदेश दिएको थियो ।
आदेशको पुस ११ गते प्रमाणीकरण भएको थियो । अदालतको आदेशको पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण चिमरीयाले जानकारी दिए ।