नेपाल बेसबल तथा सफ्टबल सङ्घको चौथो साधारण सभा सम्पन्न

01 February, 2026 157 Views
नेपाल बेसबल तथा सफ्टबल सङ्घको चौथो साधारण सभा सम्पन्न
157

काठमाडौँ । नेपाल बेसबल तथा सफ्टबल सङ्घको चौथो साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि आचार्यले नेपालमा बेसबल खेलको विकास र विस्तारका लागि राष्ट्रिय खेलकुद परिषद्बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संघको संस्थागत सुदृढीकरण र खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले बेसबल खेल नेपाल ओलम्पिक मुभमेन्टमा सहभागी हुन सफल भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे। उद्घाटन अवसरमा नेपाल अल्पाइन स्पोर्ट्स महासङ्घका अध्यक्ष गोविन्द भट्टराई, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य अञ्जन धमला, राष्ट्रिय युवा परिषदको नव.नियुक्त बोर्ड सदस्य रबेन्द्र बिक्रम शाह लगायतले संघको प्रगति र सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साधारण सभाले अध्यक्ष दीपक न्यौपानेद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति विवरण र कोषाध्यक्ष उपेन्द्र विक्रम लामाले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। कार्यक्रमको सञ्चालन सङ्घका महासचिव प्रदीप शाहले गरेका थिए। साधारण सभामा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा प्रदेश र जिल्ला संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Related Post