साहारा चितवनमा रविसहित १४ नयाँ प्रतिवादी बनाउनुपर्ने प्रहरीको राय

सेयर गर्नुहोस्

७ माघ,काठमाडौं-भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान सकेको प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १४ जनालाई प्रतिवादी बनाउनुपर्ने राय दिएको छ ।

यसअघि ८ भदौमा १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएकाले साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादीको संख्या ३१ पुग्ने भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले दुई चरणमा पक्राउ पुर्जी लिइएका १४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको पछिल्लो प्रतिवेदन गत शुक्रबार बुझाइएको बताएका छन ।

प्रहरीले चितवन जिल्ला अदालतबाट ७ मंसिरमा पूर्वगृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । अनुसन्धानको क्रममा थप व्यक्ति खुलेपछि चार जनाविरुद्ध पुनः पक्राउ पुर्जी लिएको थियो । जसकारण पूरक अभियोजनमा थप १४ नयाँ प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले अनुसन्धान प्रतिवेदन आएको पुष्टि गर्दै अध्ययनकै क्रममा रहेको बताए ।

यसअघि ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै ८ भदौमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । अहिले १४ जना नयाँ प्रतिवादी समेत थपिएकाले बिगो रकम बढेर ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ पुगेको एक अनुसन्धान अधिकृतले बताए ।

गत मंसिर पहिलो साता २४ बचतकर्ताले रविसहित १० व्यक्तिविरुद्ध चितवन प्रहरीमा जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो । त्यतिबेला साहाराका बचतकर्ताले रवि र पूर्वडीआईजी छविलाल जोशीसहित जीबी ग्रुप अफ कम्पनीका सेयरधनी सिन्धुलीको दुधौली नगरपालिका–२ का विशाल तामाङ, अर्का सेयरधनी नवीन अछामी, रबिना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, भगवती बम्जन, कविता तामाङ र रामबहादुर खनालविरुद्ध उजुरी दिएका छन् ।

अहिले उनीहरू सहित १४ जनालाई मुलुकी फौजदारी अपराध संहिताको ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको छ ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको थियो ।

प्रहरीले ९ मंसिरमा रविलाई काठमाडौंबाट चितवन लगेर बयान समेत गराएको थियो । चितवनबाट रातारात पोखरा लगिएको भन्दै चौतर्फी विरोध समेत भएको थियो ।

प्रहरीका अनुसार पोखराको सूर्यदर्शन तथा बुटवलको सुप्रिम सहकारीमा जस्तै साहाराबाट रवि लामिछानेकै नाममा कुनै पनि कर्जा गएको भेटिएको छैन । तर यो सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएको र त्यसपछिको कारोबार तथा खर्चमा रविलाई पनि प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको छ ।

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको निष्कर्ष निकालेको थियो ।

यसमध्ये ६५ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा ल्याई अपचलन भएको भन्दै रवि लामिछाने, छविलाल जोशी, जीबी राई, र कुमार रम्तेलविरुद्ध प्रचलित कानुन बमोजिम कारबाही गर्न समितिले सिफारिस गरेको थियो ।

दोस्रो चरणको अनुसन्धानको क्रममा गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेको गोर्खा मिडियामा १० लाख रुपैयाँ गएको अनुसन्धानबाट खुलेको छ । प्रहरीको अनुसन्धानले प्रतिवेदनले गोर्खा मिडियामा १० लाख ८० हजार १५१ रुपैयाँ रकम साहारा चितवन सहकारीबाट सोझै गएको औंल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *