आफ्नै जग्गाको घेराबार हटाउन गृहमन्त्रीको निर्देशन, प्रहरी अन्योलमा

17 August, 2026 66 Views
आफ्नै जग्गाको घेराबार हटाउन गृहमन्त्रीको निर्देशन, प्रहरी अन्योलमा
66

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले मनकामनास्थित इलाका प्रहरी कार्यालय (इप्रका) को आफ्नै स्वामित्वमा रहेको जग्गामा लगाइएको घेराबार हटाउन निर्देशन दिएपछि प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि अन्योलमा परेका छन्।

मतदाता भेटघाटका क्रममा आइतबार मनकामना पुगेका गृहमन्त्री गुरुङले स्थानीयको गुनासो सुनेपछि घेराबार तत्काल हटाउन निर्देशन दिएका हुन्। तर, शहीद लखन गाउँपालिका–२ मा रहेको उक्त ७९९ कित्ता नम्बरको ३२९.८९ वर्गमिटर जग्गा नेपाल प्रहरीकै स्वामित्वमा रहेको र नयाँ प्रहरी भवन निर्माणका लागि गत वर्ष तारबार गरिएको जनप्रतिनिधि तथा स्थानीयको भनाइ छ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगर र वडाध्यक्ष सकुन थापाले आफ्नै जग्गा संरक्षणका लागि लगाइएको तारबार हटाउन निर्देशन दिनु गलत भएको बताएका छन्। उनीहरूले गृहमन्त्रीलाई गलत ब्रिफिङ गरिएको हुनसक्ने दाबी गरेका छन्।

स्थानीयका अनुसार उक्त जग्गा यसअघि निर्माण सामग्री राख्न र सवारी पार्किङ गर्न प्रयोग हुँदै आएको थियो। तारबार लगाएपछि व्यक्तिगत रूपमा प्रयोग गर्न नपाएकाहरूले घेराबार हटाउन दबाब दिँदै आएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी अनिलकुमार खड्काले भने प्रहरीको आफ्नै जग्गा संरक्षणका लागि तारबार गरिएको भन्दै प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर माथिबाट आएको निर्देशनअनुसार अघि बढ्ने बताएका छन्।

Related Post