मकवानपुर । आफन्तको मृत्यु संस्कारमा सहभागी हुन नुवाकोट जाँदै गरेका रौतहटका ५० वर्षीय बमबहादुर वाइबाको सुमो दुर्घटनामा परी मृत्यु भएको छ।
बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित सुन्दरी मोडमा हेटौँडाबाट नुवाकोटतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो दुर्घटना हुँदा बमबहादुरसहित तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा सात जना घाइते भएका छन्।
चपुर नगरपालिका–३ गैँडाटार निवासी बमबहादुर खेतीकिसानी गर्दै आएका थिए। उनी दिदीका छोराको निधनपछि शुक्रबार हुने २१औँ दिनको संस्कारमा सहभागी हुन आफन्तका परिवारका सदस्यहरूसँगै नुवाकोट जाँदै थिए। तर, आफन्तको दुःखमा साथ दिन हिँडेका उनी गन्तव्यमा पुग्न पाएनन्।
दुर्घटनामा सुमो चालक ३३ वर्षीय कालुमान लोप्चन, १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर घाइते भएका छन्।
घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।