असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको परिस्थिति असाधारण र असामान्य रहेको दाबी गरेका छन् । आज भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार संविधानअनुसार नबनेको धारणा राखेका हुन्। ‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ । किनभने देशमा सरकार छ, संविधान अनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ,’ ओलीले भने, ‘अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो ।’
उनले पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने जिकिर गरे । ‘संसद् भंग गर्ने पूर्वशर्त राखेर सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो । उहाँलाई राम्ररी थाहा छ, नेपालको संविधानको उहाँ व्याख्या गरेर आउनुभएको व्यक्ति हो,’ उनले भने ।