फिफा विश्वकप २०२६ को ऐतिहासिक १०००औँ खेलमा एसियाली राष्ट्र जापानले शानदार प्रदर्शन गर्दै ट्युनिसियालाई ४–० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै जापानले नकआउट चरणमा पुग्ने सम्भावना निकै बलियो बनाएको छ भने लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया समूह चरणबाटै बाहिरिएको छ।
मेक्सिकोको मोन्टेरेमा सम्पन्न समूह ‘एफ’ अन्तर्गतको खेलमा जापानका लागि असाय उएदाले दुई गोल गर्दा दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। खेलको चौथो मिनेटमै दाइची कामाडाले केइतो नाकामुराको पासमा गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। सुरुदेखि नै आक्रामक देखिएको जापानले ३१औँ मिनेटमा असाय उएदाको गोलमार्फत अग्रता दोब्बर बनायो।
पहिलो हाफ २–० ले आफ्नो पक्षमा पारेको जापानले दोस्रो हाफमा पनि खेलमाथि पूर्ण नियन्त्रण कायम राख्यो। ६९औँ मिनेटमा जुन्या इटोले उएदाको पासमा गोल गर्दै स्कोर ३–० पुर्याए। त्यसपछि ८३औँ मिनेटमा उएदाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जापानलाई सहज जित दिलाए।
खेलभरि जापानले उत्कृष्ट प्रदर्शन गर्यो। ६२ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको जापानले ११ वटा प्रहार गर्दा पाँच वटा अन टार्गेट राख्न सफल भयो। ट्युनिसियाले भने जम्मा दुई प्रहार गरे पनि कुनै पनि प्रहार पोस्टको दिशामा लैजान सकेन।
यो जितसँगै जापानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापान अहिले समूहबाट अन्तिम १६ मा पुग्ने बलियो दाबेदार बनेको छ।
यता ट्युनिसियाको संकट झन् गहिरिएको छ। पहिलो खेलमा स्वीडेनसँग ५–१ को भारी हार बेहोरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साब्री लामोउचीलाई बर्खास्त गर्दै अनुभवी प्रशिक्षक हार्भे रेनार्डलाई टोलीको जिम्मेवारी दिएको थियो। तर प्रशिक्षक परिवर्तनले पनि टोलीको नतिजामा कुनै सुधार ल्याउन सकेन। लगातार दोस्रो हारसँगै ट्युनिसिया विश्वकपबाट बाहिरिने पहिलो टोलीमध्ये एक बनेको छ।
दुई खेलमा कुल ९ गोल खाइसकेको ट्युनिसिया यस संस्करणको विश्वकपमा सबैभन्दा धेरै गोल खाने टोलीसमेत बनेको छ। उता जापानका स्टार फरवार्ड असाय उएदाले दुई गोल र एक असिस्ट गर्दै प्रतियोगितामा आफ्नो प्रभावशाली उपस्थितिलाई थप मजबुत बनाएका छन्।
अब जापानले समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। ट्युनिसियाले भने आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्नेछ, तर त्यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ।
विश्वकपको ऐतिहासिक १०००औँ खेलमा प्राप्त यो शानदार जितले जापानलाई प्रतियोगिताको सम्भावित ‘डार्क हर्स’ टोलीका रूपमा थप मजबुत बनाएको छ।