अलमलमा बालेन : नयाँ पार्टी खोल्ने कि पुरानासँग मिल्ने

29 October, 2025 313 Views
अलमलमा बालेन : नयाँ पार्टी खोल्ने कि पुरानासँग मिल्ने
313

कात्तिक, काठमाडौं । जेन–जी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्ति बनाउने तयारीमा रहेका काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साह अहिले नयाँ पार्टी खोल्ने कि पुरानासँग मिल्ने भन्ने निर्णयमा अलमलमा परेका छन्।
बालेनले हाल दुई विकल्पमाथि विचार गरिरहेका छन् — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने वा सुमना श्रेष्ठ र निश्चल बस्नेतलगायतले बनाउँदै गरेको नयाँ दललाई समर्थन गर्ने। रास्वपाले रवि लामिछानेलाई सभापतिबाट हटाए मात्र सहकार्य सम्भव हुने संकेत बालेनले दिएका थिए, तर रास्वपाले त्यो प्रस्ताव अस्वीकार गरेपछि दुवै पक्षबीचको वार्ता स्थगित भएको छ।

रास्वपामा नयाँ नेतृत्वको सम्भावना नदेखेपछि बालेनको ध्यान अहिले सुमना श्रेष्ठको नेतृत्वमा बन्न लागेको नयाँ दलतर्फ गएको बताइन्छ। श्रेष्ठ समूहले पनि देशभरका युवालाई समेट्ने गरी नयाँ राजनीतिक संरचना बनाउन गृहकार्य थालेको स्रोतको दाबी छ।

यता, रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले ‘जेन–जी आन्दोलनलाई संस्थागत गर्ने उद्देश्यले विभिन्न पक्षसँग संवाद भइरहेको’ बताएका छन्। उनका अनुसार, अहिले पार्टी पद वा नेतृत्वका विषयमा होइन, दीर्घकालीन राजनीतिक सहकार्यबारे छलफल भइरहेको छ।

बालेन नजिकका स्रोतका अनुसार उनले नयाँ पार्टीको नेतृत्व गर्नुभन्दा पनि युवापुस्ताको एकता र वैकल्पिक राजनीतिक अभियानलाई समर्थन गर्ने तयारीमा छन्। सो समूहमा स्वतन्त्र मेयर गोपी हमाल, जेन–जी प्रतिनिधि सुदन गुरुङ, विवेकशील साझाका पूर्वसदस्य, कलाकार र स्वतन्त्र अभियन्ता समेत आबद्ध छन्। बालेनको वरिपरि देखिएको यो राजनीतिक चलायमानताले स्वतन्त्र र नयाँ पुस्ताको राजनीतिमा फेरि एउटा नयाँ समीकरण बन्ने संकेत दिएको छ।

Related Post