काठमाडौं । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी विभिन्न आकारका अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।
सङ्घका अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ र मिडियम अण्डा ५०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार रुपैयाँ अर्थात् सात क्रेटका लागि निर्धारण गरिएको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण नियन्त्रणमा आए पनि त्यसका कारण ठूलो संख्यामा कुखुरा मरेकाले अण्डाको उत्पादन घटेको छ। उत्पादन घटेसँगै बजारमा माग बढ्दा अण्डाको मूल्यसमेत बढेको हो।
उनका अनुसार विभिन्न फार्मबाट प्राप्त मूल्यका आधारमा नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो। तर मूल्य बढे पनि किसानले अझै उत्पादन लागतअनुसारको मूल्य पाउन नसकेको व्यवसायीको भनाइ छ।
पोखरेलका अनुसार एउटा अण्डाको उत्पादन लागत करिब १९ रुपैयाँ १२ पैसा पर्छ। यस हिसाबले ३० वटा अण्डाको एक क्रेट उत्पादन गर्न करिब ५७३ रुपैयाँ ६० पैसा लागत लाग्छ। तर हाल कायम समर्थन मूल्य त्यसको तुलनामा अझै कम छ।
बर्डफ्लुका कारण विगतमा ठूलो क्षति व्यहोरेका किसान उत्पादन लागतसमेत नउठ्दा व्यवसायबाट पलायन हुन थालेको सङ्घको भनाइ छ। रोगको जोखिम, उत्पादनमा आएको कमी र बजार मूल्यमा हुने उतारचढावका कारण किसान बैंक ऋणको दबाबमा समेत पर्दै आएका छन्।
पोखरेलका अनुसार पछिल्लो समय केही किसानका कुखुरा बर्डफ्लुका कारण मरेका छन् भने अण्डा उत्पादन गर्ने किसानले उचित मूल्य नपाउँदा थप आर्थिक क्षति व्यहोर्नुपरेको छ। उत्पादन घट्दै जाने र लागत बढ्दै जाने अवस्था कायम रहे अण्डा उत्पादन व्यवसायमा किसानको आकर्षण अझ घट्न सक्ने व्यवसायीहरूको चिन्ता छ।