३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्न सक्ने अवस्थामा नेपाल

17 August, 2026 61 Views
३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्न सक्ने अवस्थामा नेपाल
61

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल झण्डै ३० अर्ब रुपैयाँ बराबरको विधुत निर्यात गर्न सक्ने अवस्थामा पुगेको बताएका छन्।

नेपाल विधुत प्राधिकरणको ४१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विधुत उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारको विकाससँगै लाखौँ घरधुरीमा विधुत सेवा पुर्‍याउँदै नेपाल निर्यातको चरणमा प्रवेश गर्न सफल भएको बताए।

उनले चार दशकभन्दा लामो अवधिमा नेपाल विद्युत प्राधिकरणले नेपालको ऊर्जा विकासमा ऐतिहासिक भूमिका निर्वाह गरेको उल्लेख गरे। निजी क्षेत्रका ऊर्जा उत्पादक, सहयोगी निकाय तथा सम्बन्धित सबै पक्षको सहकार्यबाट ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ थियो।

‘यतिबेला झण्डै ३० अर्ब रुपैयाँको विद्युत निर्यात गर्नसक्ने अवस्थामा पुगेका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘यी तथ्यांक उपलब्धिका अंक मात्र होइनन्, नेपाल बदलिँदै गएको प्रमाण पनि हुन्।’मन्त्री श्रेष्ठले अब सरकारको प्राथमिकता विद्युत उत्पादनमा मात्र सीमित नरहेको बताए। उत्पादित विधुतको आन्तरिक खपत बढाउने, प्रसारण तथा वितरण प्रणालीलाई सुदृढ बनाउने र बाह्य विधुत बजार विस्तार गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको उनले बताए।

चालु आर्थिक वर्षमा प्रसारण पूर्वाधारको विस्तार तथा सुधारमा विशेष ध्यान दिइएको उल्लेख गर्दै उनले उत्पादन बढ्दै जाँदा उच्च विधुत भार धान्न सक्ने प्रसारण प्रणाली आवश्यक रहेको बताए।उनले रणनीतिक प्रसारण लाइन, सबस्टेसन तथा ग्रिडको सुदृढीकरणसँगै अन्तरदेशीय प्रसारण पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए।

 
 
 
 
 
 
 
 

Related Post