काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग अर्थतन्त्र, बैंकिङ क्षेत्रको अवस्था, वित्तीय बजार र बजेट कार्यान्वयनका विषयमा छलफल गर्दै छन्।
अर्थ मन्त्रालयका अनुसार मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन्।
छलफलमा चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा बैंकहरूको भूमिका, वित्तीय प्रणालीमा देखिएका चुनौती, कर्जा प्रवाह, लगानी विस्तार तथा निजी क्षेत्रको आर्थिक गतिविधिलाई कसरी थप चलायमान बनाउने भन्ने विषयमा विचार–विमर्श हुने बताइएको छ।
यससँगै वित्तीय बजारको वर्तमान अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या, निजी क्षेत्रको लगानी बढाउने उपाय तथा सरकार र बैंकिङ क्षेत्रबीच आवश्यक समन्वयका विषयमा पनि छलफल केन्द्रित रहने जनाइएको छ।
सरकारले आर्थिक गतिविधिलाई गति दिने, लगानीको वातावरण सुधार गर्ने र बजेटमा घोषणा भएका सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले बैंकका सिइओहरूसँग नियमित संवादलाई प्राथमिकता दिएको छ।