असोज २४ र २५ गते उपत्यकामा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

09 October, 2026 119 Views
असोज २४ र २५ गते उपत्यकामा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने
119

काठमाडौँ । मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको स्तरोन्नति कार्यका कारण असोज २४ र २५ गते काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले पुरानो कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ कन्डक्टर जडान गर्न लागेको हो ।

प्राधिकरणका अनुसार उक्त कामका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ । यस अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ ।

प्रसारण लाइनको डबल सर्किटमध्ये एउटा सर्किटको करिब ४०० मिटर कन्डक्टर परिवर्तन गर्न बाँकी रहेको छ । कम क्षमताको पुरानो कन्डक्टरको स्थानमा उच्च क्षमताको एचटीएलएस कन्डक्टर जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

स्तरोन्नतिको काम सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् वहन क्षमता बढ्ने र काठमाडौँ उपत्यकामा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउनसमेत सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको जनाइएको छ । यद्यपि, मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्नेछ । प्राधिकरणले कामका कारण उपभोक्तामा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।

Related Post