विराटनगरको सीमावर्ती क्षेत्रमा अस्पतालको नाम लेखिएको भ्यानबाट ६० किलो गाँजा बरामद भएको छ। सुरक्षाकर्मीले जाँचका लागि भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए।
विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट मंगलबार राति सशस्त्र प्रहरी बल नेपाल, बीओपी दरैयाबाट खटिएको टोलीले गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले जाँचका लागि रोक्न खोजेका थिए।
तर, सुरक्षाकर्मीले चेकजाँच गर्न खोजेपछि भ्यानका चालक गाडी घटनास्थलमै छाडेर फरार भएका थिए।
त्यसपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र भ्यानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ।
घटनापछि फरार चालकको खोजी भइरहेको छ भने भ्यानमा गाँजा कसरी राखियो र यसको ओसारपसारमा संलग्न व्यक्तिबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।