अस्पतालमा हुने हरेक मृत्युको कारण डिजिटल अभिलेखमा

14 August, 2026 67 Views
अस्पतालमा हुने हरेक मृत्युको कारण डिजिटल अभिलेखमा
67

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणालीसम्बन्धी कार्यविधि, २०८२’ लागू गर्दै देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा हुने हरेक मृत्युको चिकित्सकीय कारण डिजिटल प्रणालीमा अनिवार्य रूपमा अभिलेख गर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्थाअनुसार अस्पतालमा भर्ना भएका, अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका, मृत अवस्थामा ल्याइएका र शव परीक्षण गरिएका सबै केसको विवरण राख्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय मापदण्ड तथा विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरणअनुसार मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम अर्थात् निश्चयकारी कारण खुलाउनुपर्नेछ । प्रत्येक मृतकलाई युनिक आइडेन्टिफिकेसन नम्बर (यूआइएन) दिइनेछ र चिकित्सकले जारी गरेको मृत्यु प्रमाणपत्रसहित उक्त नम्बर आफन्तलाई उपलब्ध गराइनेछ ।

यूआइएनका आधारमा परिवारले सम्बन्धित वडा कार्यालयमा सजिलै मृत्यु दर्ता गर्न सक्नेछन् । मृत्युको विवरण स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग अन्तर–आबद्ध गरिनेछ, जसबाट अभिलेखमा हुने गडबडी र फर्जी मृत्यु दर्ता नियन्त्रणमा सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

कार्यविधिले अस्पताललाई मृत्युको अभिलेख राख्नेमात्र नभई ‘रोक्न सकिने मृत्यु’ घटाउन पनि योजना बनाउनुपर्ने व्यवस्था गरेको छ । अस्पतालहरूले मृत्युका कारण र तथ्याङ्कको नियमित विश्लेषण गरी स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा रोकथामका उपाय लागू गर्नुपर्नेछ ।

प्रणाली सञ्चालनका लागि मोबाइल एप्लिकेसन प्रयोग गरिनेछ भने संघ, प्रदेश र स्थानीय तहमा कार्यान्वयन तथा अनुगमनका लागि सहजीकरण समितिसमेत गठन गरिएको छ ।

 

 

Related Post