अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकलाई त्रिविको चेतावनी, १५ दिनभित्र सम्पर्कमा आउन आग्रह

17 June, 2026 107 Views
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकलाई त्रिविको चेतावनी, १५ दिनभित्र सम्पर्कमा आउन आग्रह
107

काठमाडौं, असार ३ । त्रिभुवन विश्वविद्यालय ले अध्ययन बिदा लिएर अध्ययन सम्पन्न गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि नियमानुसार सेवामा नफर्केका वा तोकिएको सेवा अवधि पूरा नगरी जागिर छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो।

त्रिविले तोकिएको समयभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित नियमअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। विश्वविद्यालयका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता असुल गरिएको छ। यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिविको सक्रियतामा अगाडि बढाइएको जनाएको छ।

त्रिविले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भए पनि केही प्राध्यापकले यसको दुरुपयोग गरेको उल्लेख गरेको छ। अध्ययन पूरा गरेपछि सेवामा नफर्किँदा विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ।

विश्वविद्यालयले अध्ययन बिदा सुविधा उपयोग गर्ने शिक्षक तथा कर्मचारीले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ।

Related Post