काठमाडौं । दसैँमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन पाइने व्यवस्था लागू हुने भएको छ।
नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको सहमतिअनुसार घटस्थापनादेखि फूलपातीसम्म उपभोक्ताले यो सुविधा पाउनेछन्। सिलिन्डर साट्दा कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका उपभोक्तालाई लक्षित गरी पाँच स्थानमा साझा बिक्री केन्द्र सञ्चालन गरिनेछ।
यी हुन् सिलिन्डर साट्न सकिने स्थान
१. बालाजु — नेपाल ग्यासको आउटलेट
२. सीतापाइला — एभरेस्ट, सुगमलगायतका कम्पनीका केन्द्र
३. सुकेधारा — बाबा ग्यासको बिक्री केन्द्र
४. पेप्सीकोला — सगर ग्यासको आउटलेट
५. हरिसिद्धि, ललितपुर — श्रीराम ग्यासको केन्द्र (सम्भावित)
उपभोक्ताको चाप र आवश्यकताअनुसार थप स्थानमा पनि सेवा विस्तार गर्न सकिने संघले जनाएको छ।
पछिल्लो समय अविरल वर्षा, बाढीपहिरो र सार्वजनिक बिदाका कारण ग्यास वितरणमा देखिएको असहजतालाई ध्यानमा राख्दै उद्योगीहरूले यस्तो व्यवस्था गरेका हुन्।
साझा बिक्री केन्द्रमा संकलन भएका खाली सिलिन्डर सम्बन्धित कम्पनीहरूले आपसी समन्वयमा साटासाट गर्ने भएकाले उपभोक्तालाई थप झन्झट नहुने संघको भनाइ छ।