अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

03 October, 2026 90 Views
अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ
90

काठमाडौं। भारतबाट ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट गरेको आरोपमा कैलालीमा तीन जना पक्राउ परेका छन् ।

बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुर चोकमा अवैध सामानसहितको मोटरसाइकल नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार कुटपिटबाट प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन् । दुवै जनाको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा प्रयोग भएका से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए ।

Related Post