काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।
महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार महाधिवेशनमा सभापति गगन थापाले पार्टीको आगामी कार्यदिशासम्बन्धी कार्यपत्र, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयसम्बन्धी प्रतिवेदन र महामन्त्री प्रदीप पौडेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
प्रवक्ता चालिसका अनुसार अहिलेसम्म सभापति थापाविरुद्ध कुनै उम्मेदवारी घोषणा भएको छैन। त्यसैले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिने र सहमति हुन नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिने उनले बताए।
उनले यो महाधिवेशनलाई व्यक्तिभन्दा नीति र पार्टीको आगामी दिशामाथि केन्द्रित गर्नुपर्नेमा जोड दिए।
महाधिवेशनमा सहभागी प्रत्येक प्रतिनिधिले ३५ सय रुपैयाँ बुझाएपछि पार्टी कार्यालय सानेपाबाट झोला प्राप्त गर्ने व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
महाधिवेशन उद्घाटनका लागि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई आमन्त्रण गर्ने प्रयास भइरहेको प्रवक्ता चालिसले बताए। यद्यपि, कांग्रेसमा महाधिवेशनको उद्घाटन सभापतिले नै गर्ने परम्परा रहेको उनले स्पष्ट पारे।