काठमाडौं । नेपाली कांग्रेसको विधान संशोधनका लागि पदाधिकारी तथा खुला केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने सुझाव आएको छ । विधान संशोधन मस्यौदा समितिलाई उपसभापतिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नेदेखि सहमहामन्त्री पदमा खुला प्रतिस्पर्धाको व्यवस्था गर्नेसम्मका सुझाव प्राप्त भएका छन् ।
समितिले पार्टीका विभिन्न संरचना तथा भ्रातृ संस्थाहरूसँग विधान संशोधनका लागि सुझाव मागेको थियो ।
प्राप्त सुझावहरू एकीकृत गर्ने काम भइरहेको र समितिको आज वा भोलि बिहान बैठक बसेर मस्यौदा पार्टीमा पेस गरिने विधान संशोधन मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए ।
पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने सुझावसमेत आएको छ । उपसभापतिमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था विधानमै गर्नुपर्ने विषय उठेको पौडेलले बताए ।
हालको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । तर, सहमहामन्त्रीभन्दा माथिका पदमा महिलाका लागि छुट्टै कोटा निर्धारण गरिएको छैन ।
त्यस्तै, सहमहामन्त्री पदमा पनि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने सुझाव आएको छ । हाल ११ जना सहमहामन्त्री रहने व्यवस्था छ । तीमध्ये समावेशी आधारमा आठ जना निर्वाचित हुने र तीन जना सभापतिले मनोनित गर्ने प्रावधान छ ।
निर्वाचित हुने आठ सहमहामन्त्रीमा महिला, आदिवासी जनजाति, खस आर्य, दलित, मधेसी, थारू र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
खुला केन्द्रीय सदस्यको संख्या बढाउनुपर्ने सुझाव पनि प्राप्त भएको छ । हाल विधानमा ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ ।
समितिका सदस्य सचिव पौडेलले विभिन्न सुझाव प्राप्त भएको र मस्यौदा समितिमा छलफलपछि पार्टीमा पेस गरिने बताए । उनले भने, ‘विभिन्न सुझावहरू आएका छन् । विधान मस्यौदा समितिमा छलफल गरेर पार्टीमा पेस गर्छौं।’
विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन भएपछि महाधिवेशनको बन्दसत्रमा पेस गरिनेछ ।
प्रस्तावित व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ । पदाधिकारीको संख्या १७ रहने र सभापतिले ६१ जना केन्द्रीय सदस्य मनोनित गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । त्यस्तै, ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य रहने व्यवस्था पनि प्रस्तावमा समेटिएको छ ।