काठमाडौं । रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नुवाकोटमा ८० हजार ५२३ डोज हैजाविरुद्धको खोपसहित आवश्यक स्वास्थ्य सामग्री पठाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका लागि ९२३ बक्स खोपसँगै १० थान फ्रिज–फ्रि भ्याक्सिन क्यारियर, २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको हो।
बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली प्रभावित भएकाले हैजा लगायत पानीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
यसअघि रसुवा बाढी प्रभावित क्षेत्रमा पनि हेलिकोप्टरमार्फत हैजाविरुद्धको खोप पठाइसकिएको छ। रसुवामा बिहीबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी छ।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा संक्रमण फैलिन नदिन खोपसँगै खानेपानी, सरसफाइ र स्वास्थ्य सुरक्षाका अन्य आवश्यक उपायलाई पनि प्राथमिकतामा राखिएको छ।