काठमाडौं।मोरङको बूढीगंगा गाउँपालिकामा बसको ठक्करबाट सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको मृत्यु भएको छ। सोमबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ का ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते भएका थिए। खड्का सशस्त्र प्रहरी बल नेपालका सहायक हवल्दार हुन्।
गम्भीर घाइते खड्कालाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले सोमबार साँझ ६ः५२ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतक खड्का सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी (बोर्डर आउट पोस्ट) स्वर्णकट्टी, सप्तरीमा कार्यरत थिए।
दुर्घटनापछि प्रहरीले बस चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोकका ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।