काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाले गोरखाको जगत क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो ।
प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् ।
प्रधानमन्त्री शाहका अनुसार बूढीगण्डकीमा बाढी आएपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ । पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको उनले बताएका छन् ।
त्यसैगरी, काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई पनि हवाई साधनमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन् ।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टरलगायतका साधन परिचालन गरिएको छ । बाढीबाट भएको क्षति तथा प्रभावित अन्य क्षेत्रको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।