काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुलसहित विभिन्न स्थानका चार वटा पुल बगाएको छ ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो । पुल बगाएपछि उक्त मार्गबाट हुने आवतजावत प्रभावित भएको छ ।
बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बगाएको छ । त्यस्तै, धार्चे गाउँपालिका–५ को माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ ।
यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।
बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याउनुका साथै आवतजावतमा समेत समस्या सिर्जना गरेको छ । बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ ।