काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा चिनियाँ नागरिकहरूले घर भाडामा लिएर सुनको अवैध कारोबार गर्दै आएको खुलेको छ। प्रहरीले बिहीबार छापा मारेर उक्त घरबाट २१ किलो ७५० ग्रामभन्दा बढी सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले अमेरिका बस्दै आएका विष्ट थरका व्यक्तिको घर गत साउनदेखि भाडामा लिएका थिए। उक्त घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको थियो। उनीहरूले घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानी गरेको खुलेको स्रोतले जनाएको छ।
घर भाडामा लिएर अवैध रूपमा सुनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार उक्त घरमा छापा मारेको थियो। छापाका क्रममा २१ किलो ७५०.६८ ग्राम सुनका साथै कारोबारमा प्रयोग हुने विभिन्न मेसिन तथा उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार उक्त समूहका एक सदस्य सुरुमा नेपाल आएर यहाँको बजार र कारोबारको अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि उनी चीन फर्किएका थिए। त्यसलगत्तै समूहका अन्य दुई सदस्य पनि नेपाल आएको स्रोतको भनाइ छ।
उनीहरू नेपाल आएपछि तीनदेखि चार पटकसम्म विमानस्थलबाट आवतजावत गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ।
घर भाडामा लिएर सुनको कारोबार सञ्चालन गर्नु, त्यसका लागि ठूलो रकम अग्रिम भुक्तानी गर्नु तथा समूहका सदस्यहरूको पटक–पटकको आवतजावतले घटनालाई थप शंकास्पद बनाएको छ। प्रहरीले बरामद सुनको स्रोत, कारोबारको प्रकृति तथा यसमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान गरिरहेको छ।