काठमाडौं । बाढी तथा विपद्बाट प्रभावित व्यक्तिको पहिचानका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सरकारले पीडित पहिचानमा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सिंगापुरसँग अनुरोध गरेको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबारको पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको जानकारी दिए।
उनका अनुसार नेपालले अमेरिकासँग डीएनए परीक्षणका लागि सहयोग तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउन आग्रह गरेको छ। जापान र दक्षिण कोरियाबाट पनि आवश्यक विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरिएको छ।
यसअघि भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरियालगायतका देश तथा विभिन्न साझेदारबाट उद्धार तथा राहत सामग्री प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन र युनिसेफबाट पनि थप सहयोग तथा सामग्री आउने क्रममा छन्।
प्राप्त सहयोगमा उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधिलगायत सामग्री रहेका छन्। भारतको विशेष उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित छ भने दक्षिण कोरियाली टोली पनि घटनास्थलमा खटिएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता क्षेत्रीले विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताए। बाढीबाट भएको क्षतिको मूल्यांकनपछि घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोत निर्धारण गरिने मन्त्रालयले जनाएको छ।